लघुकथा -आसन ग्रहण
मचिन्द्र खत्री
उद्घोषक कनिकनि आसन ग्रहण गर्ने ब्यक्तिहरुका नाम पुकार्दै थिए,जसको नाम पुकार्यो ऊ निकै गौरान्वित मुद्रामा मञ्चमा उक्लिन्थ्यो र जनसमुदायतर्फ आफ्ना हात उठाएर हल्लाउथ्यो, दर्शक दीर्घाबाट पररर ताली पाउँथ्यो।एक त आठबजे सुरु हुने भनेको कार्यक्रम पौने नौ मा पनि सुरु भएको थिएन मानिसको बाक्लै उपस्थिति भै सकेको थियो मञ्च शानदार सजाइएको थियो कुर्सीमा टनाटन मानिस थिए।
कार्यक्रम सरकार कै लगानीको हुनुपर्छ त्यसैले केन्द्र देखि प्रदेश सम्मका नेता मन्त्री सरकार प्रमुख र उनिहरुका अगुवा पछुवाको बाक्लो उपस्थिति थियो र यसमा कोही छुट्ला कि भनेर बिचरा उद्घोषक बेलाबेला यताउता चारैतिर नियाल्थे टाउको घुमाँउदै।
हिजैमात्र निमन्त्रणा पाएको थियो रुद्रप्रसादले कार्यक्रममा उपस्थित हुँने, आफूलाई सुगर बढेर बिहान बेलुका नियमित औषधी खाइरहेको समयमा नै दवाई र खाना खानुपर्ने मनमनै सोच्यो उसले, आठ बजेको छोटो कार्यक्रम दस बजे सकिएला र घरमा आउँदा ठीकै समय होला भनेर।
तर जब कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरुको पदार्पण भयो अनि सुरुभयो आसन ग्रहणको कार्यक्रम यो निरन्तर चलि नै रह्यो यता दर्शक दीर्घामा भने ताली हान्दा कै हैरान।
एकैछिन आसन ग्रहणको कार्यक्रम रोकियो र कार्यक्रम सुरुका लागि सबैतिर गरिने राष्ट्रिय गान र सहिदका नामको मौन धारण पश्चात् बक्ताहरु सबैले एउटै राग अलाप्न थाले छोटो समय भन्दै पन्द्र मिनेट। जब उनिहरुको भाषण सकिन्थ्यो फेरि तालीकै गड्गडाहट, छेउमा बसेकि बहिनीसँग मुख बिगार्दै रुद्रप्रसादले भन्यो “के हामी ताली हान्नकै लागि आएका हौँ बहिनी?”
अब समय दस नाघिसकेको थियो रुद्रप्रसादलाई भनभन् रिङ्गटा लाग्न थालिसकेको थियो,उसले मनमनै बिचार गर्यो अब बाहिर गएर हतारहतार टेम्पो लिएर घर जाने ऊ धर्मराउँदै जुरुक्क उठ्यो। उता उद्घोषक भने माइकमा अझै भन्दै थिए हामी आसन ग्रहण गराउने कार्यक्रममा नै ब्यस्त छौँ……….।