लघुकथा- ज्ञान
शारदा दहाल भण्डारी
बिचरी ठुली !भाग्यलाई नै धिक्कार्न थालेकी छे अचेल । एकैछिन शरीरले विश्राम खोज्दा पनि आराम त हराम हो,कार्यान्तर नै विश्राम हो भनेर अर्को काममा लागिहाल्थी। गरिबी र अशिक्षाले जकडिएको परिवारमा जन्मिएकी सानैदेखि संघर्षमय नै थियो उसको जीवन ।
घर पनि उस्तै उस्तै पाएकी थिई ।कर्म गर्दा फलको आशा गर्नुहुन्न अनि भाग्यमा छ भने डोकामा दूध दुहेर अडिदैंन भन्ने मान्यता सिक्दै आएकी आज जन्मपिता र कर्मपिता अनि एउटा भएको मामासमेत यो धराधामबाट बिछोडिएपछि टाउकोमा हान्दै भाग्यको खेल सम्झिएर रुन थाल्छे।छाती पिट्छे,भक्कानिएर रुन्छे तैपनि मन सङ्लीदैन।
यतिकैमा पल्लो कोठामा बजिरहेको रेडियोमा कान पुग्छ।”ज्योतिष दर्पण कार्यक्रम “भूत ,भविष्य र वर्तमानका सम्पूर्ण पक्ष समेटेर तपाईंको चिना हेर्ने कार्यक्रम “भनेर आउँछ।
सम्झिन्छे ,सित्तैमा चिना टिपन बनाई दुनियाँको हेरिदिने र समस्या समाधानार्थ बताइदिने मामा र बुबाहरुको अनुहार ।त्यो बेला उसलाई कुनै मतलव थिएन तर एकैपटक यस्तो बज्र प्रहार हुन्छ भन्ने थाहा भएको भए सहने शक्ति बढाउँथे होला भन्दै पुनः भक्कानिन्छे ।
जीवनभर भोग्नुपरेको ब्यथा सम्झेर रुँदारुदै समय गएको पत्तो हुँदैन ।दिनभरको काम छुटिसकेको हुन्छ।बच्चाले बेलुका खान माग्दा झस्किन्छे ओहो!दिन त बितिसकेछ!आखिर के गरेर गयो आज?आफैमा प्रश्नोत्तर गर्दै जीवन यसरी नै बिताउने हो भने त…!, एकाएक उसलाई दिव्य ज्ञान प्राप्त हुन्छ,_’भाग्य लाई मात्र खोट नलगाए है,कर्ममा पनि विश्वास गर!’ (पाँचखपन -९ संखुवासभा)