लघुकथा – अनमोल माया
सरिता भट्टराई नेपाल
शिकारीले दिनभर भौंतारिदा पनि आफुले भनेजस्तो शिकार भेटाउन सकेको थिएन।उ थकित भई खोलाको किनारमा बसिरहेको थियो । उ खोला वारिबाट पारितर्फ जाने विचार गर्दै थियो ।त्यतिनैवेला एउटा बुढो बाख्रो लरखराउँदै नजिकै आयो र बस्यो। शिकारीले मुन्टो बटार्दै हेर्यो ।आहा ! आज पनि राम्रै शिकार फेलापर्यो, धन्य प्रभु तिम्रो लिला अपरम्पार भन्दै मन मनै निकै खुसी भयो ।
शिकारीले उसलाई राम्रो सँग नियालेर हेर्यो उसका आँखाबाट आँशु झरिरहेका थिए।शिकारीलाई अचानक बुढो बाख्रो प्रति अती करुणा भएर आयो र उसलाई सुम्सुम्यायो, अनि इशारा गर्यो तिमी पनि खोलापारी जाने हो? उसले दुबै कान हल्लायो । शिकारीले उसलाई सहयोग गर्ने विचार गर्यो। बुढो बाख्रोलाई बोकेर सकि नसकी खोला पारी तार्यो। बाख्रो दौडदै आफ्नो पुरानो खोरमागै बस्यो।
शिकारीपनि उसको पछी पछि लाग्यो र हेर्यो । बुढो बाख्रो उघ्राइ उसका पाठापाठीलाई दुध चुसाइरहेको थियो। त्यतिनै बेला खोर मालिक पनि अपरिचित मानिस को रहेछ भनी बाहिर आयो र सोधपुछ गर्यो।
शिकारीले आफ्नो सबै कुरा सुनायो ।खोर मालिकले भन्यो यो बाख्रोलाई मैले बुढो भयो भनि पारी गाउँमा बेचेको थिएँ। उ आफ्नो पुरानो खोर र आफ्ना पाठापाठी भुल्न नसकेर आउन सफल भएछ। यो बाख्रो मेरी मामाघरकी हजुरआमाले आमालाई दिनु भएको थियो। वहाँहरु दुबै स्वर्गवास हुनुभयो। मैले यसलाई बेच्नु हुँदैनथ्यो । सबैलाई सन्तानकोमाया उस्तै हुँदो रहेछ, तपाईंलाई धन्यवाद भन्यो। शिकारी पनि अब कहिल्यै शिकार नगर्ने अरूनै काम गर्ने अठोटका साथ आफ्नो बाटो लाग्यो।