लघुकथा -चलाख सिंगारे
म्यामराज राई
एउटा गाउँमा बाख्रापालन गरेर जीविका चलाउने किसान थियो।विशेषगरी दशैँ-तिहार जस्ता नेपालीको महान् चाडबाडहरुमा खसी किन्न आउनेको बजार लाग्थ्यो ।व्यापारिक रणनीतिअनुसार कम्तिमा ५/६ महिना अगाडिदेखि विशेष दानापानी खुवाउँथे।उनले तिनिहरुलाई खसी पारेपछि नाम दिँदा रहेछन्।
लामकाने,झ्याप्ले,काले,पुन्टे,भुक्के,सिंगारे ….आदि । ती मध्ये सिंगारे चाहिँ पाठोताकादेखि नै अलिक चलाख थियो।यसपालीको दशैँ-तिहार आउँदै थियो र मीठो-मीठो दानापानी खुवाउँदै गरेको कुरोको रहस्य सिंगारे खसीले चाल पायो।
त्यही दिनदेखि जतिसुकै मीठो घाँसपात,दानापानी दिए पनि सास अड्काउनी मात्रै खाने निर्णय गरे।कम खाएपछि मोटाउँदिन,त्यसपछि मालिकले बेच्दैन क्यारे अनि पो धेरै वर्ष बाँच्न पाइन्छ,मनमनै सोच्यो।
एकैसमयमा खसी पारिएकाहरु किसानले खुवाएको दानापानीले सबै हुप्प मासु लाग्यो,लोभलाग्दो दाम लाग्नेगरि।तर,सिंगारे चाहिँ बोकोताकाको भन्दा पनि घटेछ।चिन्तित हुँदै किसानले दशैँ अगावै एउटा युवा क्लबको सानो पार्टी थियो।त्यसमै बेचिपठाए। ( म्यामराज राई , हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान)