लघुकथा -नियत
परशुराम पराशर
गद्य कवितामा बामे सर्दै गरेकी दिलमाया जहाँ पनि जता पनि कविता गोष्ठीमा देखा पर्थिन् । उनको कविता भन्दा फेसन र हाउभाउले बढी ताली पाउँथ्यो । कविता पनि बैँसले उर्लिएको खहरेझैँ धुवाँ उडाउँदै आउँथे ।
एउटा कविगोष्ठीबाट फर्कने क्रममा महाकाव्यकार सूर्यभक्तको कारमा हामीसँगै दिलमाया पनि चढिन् । उनी महिला भएकाले अगाडिको सिटमा र हामी दुईजना पछाडिका सिटमा बस्यौँ । सूर्यभक्तले दिलमायालाई छन्दको ज्ञान लिई छन्दमा कविता लेख्न आग्रह गरे । दिलमायाले पनि उनैलाई छन्द सिकाउन आग्रह गर्दै भनिन्– “त्यसका लागि बरु तपाईंकै घर आउनुपरे पनि आउँथेँ ।”
“म त सिकाउन त्यति जान्दिनँ । वहाँसँग सिक्नुहोस् । वहाँ शिक्षक हो र छन्दको ज्ञान पनि छ ।” सूर्यभक्तले मतिर इसारा गर्दै भने ।
“हुन्छ, जोसँग सिके पनि सिक्ने त हो नि ।” उनले भनिन् ।
म झरेकै ठाउँ सुकेधारामा उनी पनि झरिन् र मेरो बारेमा जानकारी लिइन्– “के गर्नुहुन्छ ? घर कहाँ छ ? परिवारमा को को छन् ?”
“स्कुल पढाउँछु । घर छैन । डेरामा बस्छु । परिवारमा श्रीमती र ………. ।” मैले कुरा सक्न नपाउँदै उनी चाबहिल जाने बसमा चढिन् ।
पछि कसैले सुनायो उनी त बालुवाटारमा घर भएका शृङ्गारिक कवि पवनजङ्ग पारखीसँग छन्द सिक्दा सिक्दै उतै पो बस्न थालिन् रे ।