काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटको सिरानमा भीषण हिमपहिरो झरेपछि भागदौपर्ने मानापाथी हिमालको फेदीबाट ड मच्चिँदा घाइते हुनेको संख्या ११ पुगेको छ ।
मुस्ताङका प्रहरी प्रमुख रामकुमार दानीका अनुसार शिक्षिका २, कर्मचारी १, शिक्षक १ र ७ विद्यार्थी घाइते भएका छन् ।
नाउरीकोटस्थित रमला तुलाचनको घरको छानो उडाएको पनि प्रहरी प्रमुख दानीले बताउनुभयो । पहिरोका कारण बोक्से खोलाको पानी धमिलो भएको छ ।
बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएपछि फेदीमा पर्ने कोवाङ गाउँस्थित जनआदर्श माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरू भागदौड गरेका थिए । भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हिमपहिरोपछि मानापाथी र टुक्चेपीक हिमालबाट झर्ने बोक्सी खोलामा पानीको बहाव बढेको बताइएको छ । हिमपहिरो गएको क्षेत्रमा भने स्थानीय भीमप्रसाद थकाली र सकेन्द्र गौचनका गरी १ सय ३० वटा चौरी थिए ।
ती चौरीबारे यकिन जानकारी भने नआएको स्थानीयहरूले बताएका छन् ।‘त्यस क्षेत्रमा हामी दुई जनाको गोठ थियो । चौरीहरू हिमपहिरोमा परे । कति बाँचे कति मरे केही अत्तोपत्तो छैन’, थासाङ गाउँपालिका २ नाउरीकोटका चौरीपालक किसान सकेन्द्र गौचनले भने, ‘केही चौरी त पारि पाखामा देखिएका छन् । अरु चौरीबारे जानकारी आएको छैन ।’
थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले स्थानीय किसानहरू हिमपहिरोबाट प्रभावित हुनसक्ने बताएकी छन् । पहिरोबाट चौरी गोठ तथा गोठालाहरूलाई क्षति भएको आकलन गरिएको उनले बताइन् ।
अहिले प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली घटनाबारे बुझ्न त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिँडेर दुई घन्टा लाग्ने थासाङ गाउँपालिकाकी उपाध्यक्ष शेरचनले बताइन् ।घटना आइतबार बिहान साढे १० देखि ११ बजेतिर भएको थियो ।