लघुकथा : कौसी खेती
ढाकामोहन बराल
दिनभरिको ऊ कार्यालयको कामको थकाईबाट थकित भएर घर आईपुगेको थियो, गाउँबाट बुबाको फोन आयो । ” बाबु मलाई साह्रै भयो सकेसम्म त दु:ख दिन्न भनेको तर सकिनँ तिमीहरूलाई पनि फुर्सद छैन के गर्ने ?” उसले आँखा टिलपिल पार्दै “भोलि शुक्रबार भयो पर्सि लिन आउँछु र आइतबार विदा मिलाएर डाक्टरकोमा जानुपर्ला बुबा “भन्दै फोन राख्यो ।
केहीबेरमा उसकी श्रीमती पनि आइन् त्यस्तै थकित मुद्रामा । सहरको मध्यम वर्गीय परिवारको जीवन एक जनाको कमाईले धान्नै मुस्किल हुने। दुवै जना जागिरे भए पछि अस्तब्यस्त भएको घर मिलाउन शनिबार नै कुर्नु पर्ने । छोराछोरी कोठामा आफ्नो बिद्यालयको गृहकार्य गर्दै थिए ।
” चिया बनाउँ ?” टोलाई रहेको ऊ श्रीमतीको प्रश्नले झस्के जस्तो भयो । ” भयो अब बरु छिटै खाना बनाएर खाईहालौं ” उसले भन्यो । उसको उदास मुहार देखेर उनी छेउमा आईन र सोधिन् ” सन्चो भएन कि के हो हजुरलाई ?” उसले भन्यो ” ठिकै छ । अघि भरखरै गाउँबाट बुबाको फोन आएको थियो बिरामी हुनुहुन्छ रे ” फोनबाट विदा मिलेसम्म भोलि नै गएर बुबालाई ल्याउने सल्लाह दिंदै श्रीमती भान्छाको तरखरमा लागिन् ।
दुवै जनाको जागिर दिउसो बिरामी बुबालाई औषधि दिने मानिस पनि नहुने त्यसैले शनिबार बिहानै गाउँ गएर बुबा आमा दुबै जनालाई लिएर आयो र आईतवार डाक्टरसँग जचाँएर आयो । एक एक दिन त दुवैले पालै पालो विदा मिलाए तर मनले चाहेर पनि नोकरी गरेपछि सधैं घर बस्न पनि मिलेन । बुबालाई आमाको भरमा दिनभर छोडेर उनीहरु कार्यालय जान थाले ।
औषधि र अन्नपानीको असर देखाउन थालेछ कि कसो आज एक हप्तामै बुबा घरको छत सम्म उक्लन सक्नु भयो । त्यहाँ घिरौला र करेलोको एक एक झाल , दुईवटा रामतोरियाको बोट ,गोलभेंडाको सानो लहरो र खुर्सानिको एउटा बोट देख्नुभयो । यताउता अन्य घरको छतमा आँखा डुलाउँदा सबै त्यस्तै त्यस्तै छ । बुबा छतसम्म जान सक्नु भएकोमा खुशी हुदै छोरा र बुहारी पनि दुबै सिधै माथी नै आए ।
बुबाले सोध्नु भयो ” के हो बाबु यस्तो यो ? उसले भन्यो “सहरमा तरकारी किनेर साह्रै गाह्रो हुने त्यसैले सम्भव भएसम्म सबै जना यसै गर्छन् बुबा हेर्नुहोस् त अरुको पनि । यसलाई कौसी खेती भन्छन् ।” बुबाको मनमनै कुरा खेल्न थाल्यो ।” समय र परिस्थितिले कस्तो बनाउदो रहेछ सहरमा नबसी यिनिहरुको गुजारा नचल्ने गाउँमा बसेर हामिले कमाउन नसक्ने । यहाँ घरको छतमा दुईहातमा तरकारी लगाएर खानु परेको छ ।उताभने दुई हलले जोत्न नभ्याउने बारिको पाटो बांँझै छ ।” (पोखरा ७ मासबार , कास्की )