महोत्तरी । रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ ।
यसरी फर्कनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ ।
दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि आउन जान ओल्लोघर पल्लोघर गएआएजस्तै भएपछि कति सङ्ख्यामा मान्छे भित्रिँदैछन् यसको तथ्याङ्क राख्ने काम कठिन बनेको छ । जिल्लाभरि भारतसँग सीमा जोडिएको ३८ किलोमिटर दूरीभित्र वारिपारिका बस्तीपिच्छे गोरेटा बाटो भएर अहिले मुलुक भित्रिने क्रम बाक्लिएको हो ।
जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीमात्र दुवैतर्फ बस यातायात सञ्चालन भएका सीमानाका हुन् । यी नाकाको मूलबाटो भएर आउनेको लगत राख्न सजिलो हुने भए पनि सीमा पस्न पाइन्न कि भन्ने सन्देहले अहिले गल्ली र गोरेटो प्रयोग गर्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्रका नेपाली बताउँछन् ।
सीमा क्षेत्रका गुजुमुज्ज बस्तीपिच्छे दुवैतर्फका आउजाउका कच्ची सडक र गोरेटो बाटो जताततै छन् । सीमासम्म सार्वजनिक यातायातमै आउने यात्रु नेपालतर्फ प्रवेशको मुख्यद्वारमा सुरक्षाकर्मीले रोक्ने डरले चोरबाटो भएर पस्नेको सङ्ख्या निकै बढेको सीमा क्षेत्र नेपालको बस्ती हलखोरीका पवीन्द्र राय बताउनुहुन्छ ।