एजेन्सी। आइतबार पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए)को साउदी अरबको राजधानी रियादबाट पाकिस्तानको राजधानी इस्लामाबाद आउने जहाजका पाइलटले आफ्नो ड्युटीको समय सकिएको भन्दै विमान उडाउन अस्वीकार गरेका थिए ।
पाइलटले आफ्नो ड्युटी समय सकिएको भन्दै विमान उडाउन अस्वीकार गरेपछि आक्रोशित यात्रुले पनि विमानबाट ओर्लिन अस्वीकार गर्दै प्रदर्शन गरेका छन् ।
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स प्रशासनलाई उद्धृत गर्दै पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार पीके–९७५४ विमान रियादबाट त उड्यो तर खराब मौसमका कारण साउदीकै अर्को सहर दम्मममा आकस्मिक अवतरण गरियो । त्यसपछि मौसम सफा भएपछि विमान इस्लामाबाटको लागि उड्नुपर्ने थियो । तर, विमान त्यहाँसम्म ल्याएका पाइलटले आफ्नो ड्युटीको समय सकिएको भन्दै विमान उडाउन अस्वीकार गरे ।
क्याप्टेनको यो कुराले आक्रोशित यात्रुले उनको विरोधमा विमानबाट ओर्लिन अस्वीकार गरे । स्थिति नियन्त्रणमा लिनको लागि एयरपोर्ट सुरक्षाकर्मी बोलाउनु परेको थियो । पीआइएका एक प्रवक्ताले भने ‘उडानको सुरक्षाको लागि उडानभन्दा पहिले पाइलटहरुलाई उचित आराम दिनु जरुरी हुन्छ त्यसैले यही हिसाबले व्यवस्था गरिएको थियो ।’