कविता – घले कान्छा तिम्लाई शान्ति छ शान्ति ।
राजबाबु श्रेष्ठ “सागर”
पीरहरू सुकेर सन्ठी भएपछि
दिन र दु:खीहरूलाई सुकुवा लागेपछि
मध्यरातमा हुटिट्याउँले कराउँदै धुरी काटेपछि
मेरो एघार दसक काटेका हजुरबा
खोक्दै रामराम भन्दै तुलसीको मठमा
जमजमको पानी छम्कदै भन्नुहुन्थ्यो –
“नदुख्ने गरी जिब्रो तान्नू ।”
सकाल एकहुल मलामीहरूले
आफूभन्दा कान्छो घलेबालाई चारकाँध दिदै
दक्षिण ओरालीरहँदा हजुरबा भन्नुहुन्थ्यो –
“मेरो हिसाब गर्न बिर्सिएछन् कि क्या हो उनले ?”
हो !
त्यही दिन हो ।
गोठको वस्तु फुकाएका मेरो हजुरबाले ।
पुरानो हलो फेर्न सिकाएका मेरो हजुरबाले ।
आँगनमा चारो छरेका थिए परेवालाई ।
सर्पलाई आफ्नो बाटो हिँड्न दिनू भनी सिकाएका थिए ।
तिमीले मानो भर्दा साँचेको एकमुठी चामल
भोकहरूले आँगन टेक्दा
पोल्टोमा हालिदिनू भनी सिकाएका थिए ।
हो !
त्यही दिन हो ।
चाम्लिङ्को एकजोडी सेता परेवा सापटी लिई
आफ्नो दुई काँधमा राखी घलेबाको मलामी गएका ।
मलामी सँगसँगै माटोको सलामी दिएका ।
हो !
त्यही बेला हो ।
“घले कान्छा तिमी अघि भयौ । म पछि आउँदैछु ।
बाटो त एउटै हो हामी सबैका ।”
यत्ति भन्दै हजुरबा आँसुपुछ्दै आकाशतिर फर्किनुभयो ।
काँधमा बसिरहेका एकजोडी सेता परेवा
हजुरबाले हातमा राखेर
चुम्बन गर्दै आकाशमा उडाउनुभयो र भन्नुभयो –
“घले कान्छा तिम्लाई शान्ति छ शान्ति ।” राजबाबु श्रेष्ठ