लघुकथा – शहीद खोज्दै
डा. कुसुमाकर शर्मा गौतम
आज बिहानै उठेँ। आज महत्त्वपूर्ण दिन शहीदलाई सम्झने। जनमानसमा शहीदको देनको अनुभूत कत्तिको छ भनेर खोजी गर्न हिडेँ। कोठा कोठाका भित्तामा शहीदका फोटाहरू देखेँ। अन्यत्र जे भए पनि भित्तोले शहीदलाई सम्झेको पाएँ।
अग्लाअग्ला पर्खाल र विज्ञापनका होर्डिङ बोर्डमा साना अक्षरले शहीदलाई दबाइएको देख्दा चित्त दुख्यो। तै पनि शहीदलाई सम्झिएकोमा खुशी थिएँ। रक्सी व्यापारीको विज्ञापनमा शहीदको व्यापार देख्दा आत्मा कुँडिएको थियो। सरकारले नै शहीदहरूलाई शहीदगेटमा बन्धक बनाइसकेको देशमा व्यापारीले शहीदको व्यापार गरेपनि शहीदलाई त सम्झे।
कालोपुल तरेर उकालोमा हिँड्दै थिएँ। नजिकैको झुपडीबाट ‘हे भागवान!’ भन्ने आवाजले मलाई तान्यो। झुपडीमा पुगेँ। अचम्म! त्यो त साक्षात् शहीदको परिवारको घर रहेछ। प्लास्टिकको बिस्तरामाथि बिछ्याइएको बोरामा दुईजना बुढा बुढी बोराको ओढ्ने मै गुटमुटिएका थिए। बुढाले भन्दै थिए, ‘छोराको शहीद भत्ताले हिँजो बल्ल पेटभरि खान पाइएको थियो। ए बुढी! आजकालागि त्यो कन्तुरमा केही खोले बाँकी छ कि?’ म भक्कानिँदै बाहिर निस्केँ।