क्वालालम्पुर । मलेसियामा काेराेना भाईरस (काेभिड-१९) का कारण अहिलेसम्म २ जनाकाे मृत्यु भएकाे छ । अाज मङगलबार मात्रै संक्रमितकाे सङ्ख्या १०७ जना थपिएका छन ।
मलेसियामा काेराेना संक्रमितकाे सङ्ख्या थपिएर हालसम्म जम्मा ६ सय ७३ जना रहेकाे वर्ल्डडाेमेटेरकाे रेकर्डमा उल्लेख गरिएकाे छ। रिपोर्ट अनुसार सामान्य अवस्थाका संक्रमितको सङख्या ६ सय ३२ र गम्भीर बिरामीको सङ्ख्या १० रहेकाे बताएको छ । त्यस्तै ४९ जना बिरामीको उपचार सफल उन्मुख रहेकाे बताएको छ ।
मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ ।
बाहिरी जनजीवन प्रतिबन्धमा सामुहिक भेटघाट, धार्मिक, खेलकुद, सांस्कृतिक, सामाजिक कार्यक्रमहरु रहेका छन् भने अन्य ब्यापारीक स्थानहरु पनि बन्द गर्नुपर्नेछ । तर, जनतालाई अत्यावश्यक सामान बेच्ने, पब्लिक मार्केट, औषधि पसल, खाद्यान्न स्टोरहरु भने खुल्ला रहनेछन् । त्यसैगरी मलेसिया प्रवेश गर्ने जोकोहीले पनि १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ भने मलेसिया भ्रमण गर्न आउने यात्रु सबैलाई यात्रा प्रतिबन्ध गरिएको छ ।
त्यस्तै बिद्यालयहरु, कलेजहरु लगायत ट्रेनिङ सेन्टरहरु सबै बन्द हुनेछन् । साथमा मलेसियाको सरकारी कार्यालयहरु खानेपानी, बिजुली, सूचना तथा सञ्चार, पोष्ट अफीस, यातायात, तेल, ग्यास, स्वास्थ्य, औषधि पसलहरु, लगायतकाहरु बाहेक अरु बन्द हुनेछन् ।
प्रधानमन्त्रीको यस भाषणसँगै मलेसियामा १४ दिनसम्मको लागी खानेकुरा जोहो गर्नको लागि खाद्यान्न पसल, सुपरमार्केटहरुमा ग्राहकहरुको भिड सुरु भईसकेको छ । कतिपय सुपरमार्केटहरु सामान सकिएर रित्तिन थालेका छन् ।