लघुकथा – दुलही
अनुग्रह राना मगर ‘पुष्प,
छोरा साने अब तँ पनि ठूलो भइस् । यो बेला नै हो , यसो तेरो बुढी भको आमालाई सघाउने हेर्ने बेला भन्दै थिइन् आमाले ।
“ह्या.. आमा ! अहिल्यै कहाँ बेला भएको छ र ?पहिला पढाई त पूरा गर्न दिनुहोस् । त्यसपछि पो भावि योजनाको बारेमा सोँच्ने हो त?”
“खै छोरा भावी योजना सोँच्दा सोँच्दै मेरो यो उमेर भयो । कहिल्यै पूरा भा छैन । अब त छोरा ठूलो भयो । यहि एउटा सपना छ।” आमाले भनिन् ।
“पिर नगर्नुहोस् आमा म छु नि ! त्यो पनि समय आएपछि पक्कै हुन्छ ।”
उता मनमायाले पनि साने र उसको आमाको दु:खलाई देखेर पहिल्यै लैजाऊ भनेकी थिइन् । तर सानेले आफ्नो पढाई बिग्रन्छ भनेर नै पर्खन भनी रहेको थियो ।
यो कुरालाई सानेले सम्झ्यो । र आमासँग कुरा गर्दै जाँदा समय धेरै बितिसकेको हुनाले सुत्न जाने अनुमति मागे र गए ।
आमा भन्दै थिइन् “बिचार गर है साने बिचार !”
आमाको कुराले रात भरी मन खेली रहयो । ओछ्यानमा लडेर यता पल्टदा पनि उता पल्टदा पनि निन्द्रा देवीले बास गरेन। समय बिहानीको चार बजिसक्यो हाइ मात्र आउँछ , निन्द्रा पटक्कै लागेको होइन । यसो मोबाइल हेर्यो र मेसेजमा कुरा गर्यो ।
आमा उठ्नु भन्दा अगावै उठेर कतै गयो साने।
घाम निक्कै माथी आइसकेको थियो । यो बेलासम्म साने उठेन भनेर कोठामा बोलाउन पुगिन् । ढोका ढकढक गर्दै बोलाइन् “साने ..! ए साने ! ” भित्र बाट कुनै आवाज नआएपछि , हिजोको काम र ढिलो सुताइले सुति रा.. होला भनेर फर्किन् र आफ्नो कामतिर लागीन् ।
आमा ! आमा ! बाहिरबाट आवाज आयो । को रहेछ! भनेर बाहिर निस्किन् र हेरिन् । छोरा सानेसँग एउटी केटि पनि थिइन् । अड्कल काटेर शंका गर्दै सोधिन् “उ नानी को हुन् त ? ” सानेले भने- तिम्री “बुहारी” ।