लघुकथा : इच्छा
लता केसी
एक जोडी परेवाहरु आफ्नै दुनियाँमा मस्त थिए । दृश्य हेरेर उनीहरूको खुसीमा ऊ पनि रमाइरहेको थियो । अनायाश के छटपटी भयो कुन्नि ? उसले प्वाक्क ढुङ्गा फ्याल्यो । उनीहरू भुर्र उडे । उडाइको दौरानमै भालेले भन्दै थियो , “ कस्तो व्याधा रहेछ ? तिमीलाई कतै चोट त लागेन ? ´´
पोथी मसक्क मस्किई र भनी , “ कत्ति माया गर्छौ, है ? ´´
उनीहरू रङ्गीन उडान भर्दै थिए । भालेले करायो , “ ओहो , हेर त त्यो पारिको आकाशमा , कस्तो कालो धुँवा अनि आगोको मुस्लो ? ´´
पोथी आत्तिदै कराई , “ हामी अगाडि नबढौँ । गोला , बारूद जस्तै देखियो है । ´´
उनीहरूले ठूलो कोलाहल , मानवको चिच्याहट सुने । “त्यो क्षेत्रमा अशान्ति र युद्ध मडारिएको जस्तो लाग्यो । हामीले कसै गरि ज्यान जोगाऔँ । ´´ भाले भन्दै थियो। वायुयानहरू उनीहरूको वरिपरि देखिन थाले ।उनीहरू बेतोडले कावा खाँदै विपरीत दिशामा उडे । एउटा जङ्गलमा पुगेर एउटा रूखको टोडकोमा लुके ।
शान्तिको सास मात्र के फेर्दै थिए , अचानक ठूलो आवाज आयो । रूख गर्ल्याम्म ढल्यो । दनदनी आगो बल्यो । परेवाका जोडी मर्ने बेलामा चिच्याउँदै थिए , “ हे सृष्टिकर्ता , अर्को जुनिमा हामीलाई मानव भएर जन्मिन नपरोस् है । ´´