काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन साह काठमाडौं महानगरपालिकामा विजयी भएपछि उनले एक विज्ञप्ति जारी गर्दै आफुले बाटो बिराउन लाग्यौं भनेर खबरदारी गर्न अनुरोध गरेका छन ।
गठबन्धनका साझा उम्मेदवार सिर्जना श्रेष्ठ र एमालेबाट मेयर पदका उम्मेदवार केशब स्थापितलाई फराकिलो मतान्तरले पराजित गर्दै बालेन प्रमुख पदमा विजयी हुदा उपप्रमुखमा एमालेका सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकि छन् ।
मतगणना नसकिदै जित सुनिश्चित भएका बालेनले विजयी जुलुस भनेर अरुलाई पराजित गर्यौ भन्ने संकेत नगर्न समेत अपिल गरेका छन् । सामाजिक संजालमा लेख्दै उनले आफुलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्ने बताएका छन् ।
उनको भनाइ यस्तो छ ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुँदैन ।
जीत-हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।
यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । हाम्रो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरूलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा सङ्केत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।
दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाडौँ आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाइहरू कोही पनि र्यालीका लागि काठमाडौँ आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ ।
अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा धन्यवाद र्यालीु गर्नु होला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । बालेनहरूका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।
अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ । हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरूले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।
हामीलाई साथ र सुझाव जति महत्त्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको ऊर्जाको लागि हामी सधैँ तपाइहरूसँग जोडिरहेका हुन्छौँ । तपाईँहरूको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा बालेनहरू भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् ।
अबको हाम्रो पहिलो यात्रा काठमाडौँको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।