लघुकथा – परम्परा
चिरञ्जीवी दाहाल
आफ्नो अध्ययन पुरा गरेपछि निकै बर्ष राजधानीमा डेरा जमाएर बसेको रामनाथ घर फिर्ता भयो । उसलाई लाग्यो , “केही समय मात्र गुरुकुलको अध्ययन गरेर हजुरबा गाउँको नामी पुरेत भए । दुईवर्ष बनारस पढेर आएका बा भागवत वाचक बने ।
आफू भने निकै बर्ष राजधानीमा बसेर धेरै पढेको मान्छे ।
हजुरबा भन्दा बा महान भए, बा भन्दा म महान बनें । सायद यो समयको माग हुनुपर्छ । ” तर महान हुनु त परको कुरा, उसको बोलीचाली र सामान्य व्यवहार हेर्दा लाग्थ्यो, रामनाथ आजसम्म स्कूल, कलेज गएकै छैन । यतिका बर्ष अध्ययन गरेर फर्किएको मान्छे, उ निकै घमण्डी निस्कियो । बा हजुरबा लाई मात्र होइन उसले कसैलाइ पनि गन्दैन थियो । बोलीचालीका प्रत्येक शब्दमा उसको अभिमान छरपस्ट भएर पोखिएको हुन्थ्यो । अग्रज तथा मान्यजनहरु लाई पनि उ आफ्नो चेला र शिष्य जस्तै सम्झिन्थ्यो ।
कुशेऔँसीका दिन जब बाको मुख हेर्ने दिन आयो, क्षणिक नै किन नहोस एकाएक उसको सोचाइमा परिवर्तन आयो । त्यसदिन उसले आफ्नो घमण्ड नियन्त्रण गरि बा तथा हजुरबाको चरण स्पर्श गर्दै उनिहरुको शरणमा पुग्यो ।
एकदिन उसको बा र हजुरबा कुरा गर्दै थिए धन्य हाम्रो परम्परा , यदि बाबुको मुख हेर्ने दिन नआउने थियो भने हाम्रो रामनाथको घमण्डीपन अझै झाँगिने थियो ।