लघुकथा – परिस्थिति
शान्ता भण्डारी थपलिया
पेशाले वकिल प्रदिप जागिरका साथै आफ्नो प्राइभेट फर्म पनि खोलेका थिए । फर्म धेरै जसो श्रीमतीले हेर्थिन् । उनीहरूको एउटा छोरा थियो । सानो छउन्जेल महंगो मन्टेश्वरी स्कूलमा पढ्यो ।अलिक ठूलो भए पछि राम्रो प्राइभेट स्कूलमा होस्टलमा राखी दिए ।कहिले काँही घर आउँथ्यो। घर आएपछि होस्टल जान उसलाई मनै लागेन । एकदिन उसले आमालाई भन्यो , “ म होस्टल जान्न । गाउँमा काकाको छोराले घरमै बसेर पढ्न हुने , म चाहिँ ….? ´´
आमाले सम्झाउँदै भनिन् , “ बाबु उनीहरू गाउँमा सामान्य काम गरेर बस्ने मान्छे , यत्रो महंगो स्कूलमा होस्टल बस्न कहाँ सक्छन् र ? हाम्रो यत्रो व्यापार व्यवसाय छ । फेरि तिम्रो रेखदेख र स्याहार गर्न मेरो समय पनि त छैन । ´´
उसले गरुङ्गो मनले मात्र भन्यो , “ हुन्छ त ! ´´
समयको अन्तरालमा ऊ ( छोरो )ठूलो अनलाइन बिजनेस मेन भएको भयो । बुवाकाे मृत्यु भैसक्यो ।आमा पनि अशक्त भइन् ।बिहे गर्यो । आमालाई समय दिन छोरा बुहारीले भ्याएका थिएनन् । एकदिन उसले आमासंग भन्यो , “ आमा , अब हजुर थला परिसक्नु भयो । हजुरलाई हामीले समय दिन व्यापारले गर्दा भ्याएनौं । , सबै कुरा सम्पन्न भएको एउटा राम्रो बृद्धाश्रम हेरेर आएको छु । त्यहाँ हजुरको राम्रो हेरचाह हुन्छ । त्यही बस्नु होला । कहिलेकाँही भेट्न आउँछु । चाड पर्व मनाउने बेला लिन आउँछु , है । ´´
आमाले अकस्मात् भनिन् , “ बाबु मलाई त्यहाँ जान मन् छैन । उता तेरो काकी गाउँमा घरमै बसेकी छन् त ! म चाहिँ …? ´´
छोरोले केही सम्झिएझैँ गरेर भन्यो , “ आमा काकीलाई त त्यस्तो महंगो सबै सुविधा भएको बृद्धाश्रममा महंगो पैसा तिरेर उनीहरू कहाँ राख्न सक्छन्? आमा ! हाम्रो परिस्थिति पनि बुझ्नुस् न ! ´´