लघुकथा- कुण्ठा
नवराज चौधरी
यसपल्ट पनि गाउँपालिका अध्यक्षको टिकट नपाएर दिलिप सार्है खिन्न भयो । उसको अनुहारमा आक्रोश र असुन्तुष्ट भाव झल्किरहेको देखिन्थ्यो। ६ महिना अघि मात्रै पार्टी प्रवेश गरेका नवराजले चैं टिकट पाउने अनि मैले यत्तिका वर्ष पार्टीमा गरेको लगानी को कदर खोई ? यी ठूला नेताहरुको यो कस्तो निर्णय ?
यिनीहरुको गल्तिहरुलाई ढाकछोप गरेर मैले गरेको समर्थन र चाकरीको फल ,शायद यही हो ।
मेरो निष्ठामा म चुकेकै त रैछु ! यी धुर्त , खुरापाती , पाखण्डी अवसरवादीहरु बाट मेरो त्याग र समर्पणको मूल्यांकनको आश के नै गर्नु ? धिक्कार छ मलाई ! राजनीतिमा म जत्ति पनि ज्ञान नभएको यी अविवेकीहरुको हनुमान भएकोमा !..आफै देखि घिनलाग्न थाल्यो ।
अघिदेखि कौसीमा एकहोरो घोरिएको दिलिपको आँखा घुरन काकामा पर्यो । जो उनकै हली थियो । ६० वर्षको उमेरमा पनि ऊ तन्दुरुस्त , हंसिलो र खुसी देखिन्थ्यो । दिलिप आफैँलाई नियाल्यो । काकाभन्दा २० वर्ष कान्छो भएर पनि उ आफैलाई जिर्ण र बुढो ठान्न थाल्यो ।उसैबेला आँगनमा रेडियो घन्किरहेको थियो , ” कहीँ आफ्नो भूमरीमा आफैं पर्यौ कि , कहिँ आफ्नो आँखा बाट आफै झर्यौ कि ? ´´.