लघुकथा – “चरित्र”
रमेश सुबेदी
पधेँरोमा पानी भर्दै गरेकी महिलासंग मैले जिज्ञासा राखेँ, “अनेकथरी मान्छेहरु भेटेँ र अनेक थरी चर्तिकला देखें । एउटा जिज्ञासा बाँकी रह्यो ।
महिलाले जिज्ञासा `के हो ? ´भनेर सोधिन् । मैले भने, “मलाई महिलाहरुको स्त्री चरित्रको बारे जान्न ईच्छा छ, केही बताई दिन सक्नु हुन्छ ?´´
प्रश्न सुनेर एकछिन सोच मग्न देखिएकी ती महिला एक्कासी चिच्याउन लागिन्, “बचाउ… बचाउ…! टाढा टाढासम्म उसको आवाज पुग्यो र गाउँलेहरु पधेँरो तिर दौडन लागे ।
“हैन , हजुर किन कराउनु भयो ? ´´ अतालिंदै मैले सोधेँ ?
महिलाले भनिन्, “ अब गाउँले आउँछन् र तपाईँलाई बेस्सरी पिट्छन् । अनि बल्ल तपाईँको होस ठेगानमा आउँछ । यो सुनेर म डराउँदै माफ माग्दै भन्न लागें, मैले त हजुर इज्ज़तदार महिला देखेर आफ्नो जिज्ञासा राखेको हुँ ।
म हेरिरहें, ती महिलाले गाग्रीको पानी आफ्नो शरीरभर हालिन् र सबै शरिर भिजाइन् । गाउँलेहरु त्यहाँ आईपुगे । सोध्न लागे, “के भयो ? ´´
उनी मेरो मुख हेर्दै बिस्तार भन्न लागिन्, “ म यो पधेँरोमा खसें र उहाँले मलाई बचाउनु भयो । भगवान बनेर ठिक समयमा उहाँ नआइपुगेको भए आज मेरो अन्तिम दिन हुन्थ्यो ।
यो सुनेर सबै गाउँलेले मलाई बोके, अनेक किसिमका पुरस्कारसहित मानसम्मान गरे । ठुलो दुर्घटना हुनबाट बचाएको भन्दै तारिफ गर्दै गाउँलेहरु फर्किए ।
जब गाउँले फर्किए । ती महिलाले गाग्री बोकिन् र मलाई भनिन्, “ स्त्रीको चरित्र कस्तो हुँदो रहेछ ? थाहा भयो नि! ´´