लघुकथा : जन्ती
रामराजा के. सी.
गंगालाल चौधरी आज निकै खुसी थिए । झुप्रै भएपनि आज उनको घरमा महलझैँ बिहेको रौनक छाएको थियो । २ कठ्ठा जमिन रुपैयाँसँग साटेपछि छोरी बिहे गर्ने तामझाममा लागेका थिए । भोजभतेर, मिठाइ फलफुल तयारी गर्नेहरु व्यस्त थिए । भित्र कोठामा छोरी सिगार्नेको पनि भिड थियो ।
जन्ती कुर्दाकुर्दै दिनको १ बजिसकेको थियो । जम्मा ४ किलो मिटर टाढाबाट आउनु पर्ने जन्ती , यस बेलासम्म नआएकोले गंगालालको ओठमुख सुक्न लागिसकेको थियो । १७ लाख रुपैयाँ दाइजो दिने सर्त पक्का भएर नै बिहेको तयारी गरिएको थियो । किन जन्ती आएनन् ? सबैमा कौतुहुलता छाउन थालेको थियो ।
पारीबाट खेतका काँल्ना उक्लदै ,छाता ओडेर , एउटा धोती समाउँदै मोतीराम शर्मा देखा परे । उनले एकै श्वासमा भने , “ गंगे , तेरो घरको जन्ती तिलकपुर लागेछन् । बीस लाख दाइजो पाए रे । लमीलाई एक लाख नगद र एकजोर लुगा दिने सहमति भएको रे ।´´
गंगालाल पुर्परामा हात राख्दै आफैलाई सराप्न थाले , “ लमीले २५ हजार माग्दा मैले किन मानिँन ? ´´