लघुकथा : विदेशको यात्रा
बरुण दाहाल
“तिमीहरु राक्षस हौ,आमाको रगत, खानेहरु हो । तिमीहरूप्रति धिक्कार छ चोरहरु ..”
विहानै शिवहरि रक्सीको मातमा बर्बराइ रहेका थिए । उनको खुट्टाले राम्रोसित भुइँ टेक्न सकिरहेका थिएनन् । उनी विल्कुल अर्ध चेतमा रहेको अनुमान लगाउन सकिन्थ्यो। वरपर केही मानिस बसिरहेका थिए र कसैले मोबाईलमा रेडियो बजाई रहेको थियो।
” हाल सम्मको चुनावी नतिजा सुन्नुहोस् नेकपा..,नेपाली..,समाजवादी ..,स्वतन्त्र ।”
“राप्रपाले अपेक्षित नतिजा ल्याएनछ ।” रमण काकाले गाइगुईँ गरेको सुनियो ।
” अरु देशका मानिसहरू कहाँ बाट कहाँ पुगिसके। हामी अझै…
शिवहरिको तत्काल आक्रोशपुर्ण प्रतिक्रिया सुनेर वरिपरि बसेका गाउँका बुद्धिजीवी, नेतागण खितिति हाँसे ।
उनी १०/१५ वर्ष दुबई बसेर भर्खर नेपाल आएका । ५० वर्षको हाराहारी पुगेका उनको छोरा राजन २० वर्षको भयो। ” के छ कान्छा ? विहानै रक्सी पिइस्, के भयो ? राजनको मलेसियाको भिसा लाग्यो ?” रमण काकाले शिवहरिलाई सोध्नुभयो ।
“मेरो पुस्ता त विदेश गयो,मेरो छोराको पुस्ता पनि जाने भयो, मेरो नातिको पुस्ता पनि जाला….. ” उनले टाउकोमा हात राखेर बिस्तारै जिब्रो रट्पट्याउदै बर्बराएको सुनियो ।