विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमालेले आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जनाएको छ ।
मुख्यमन्त्री थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै एमाले अदालत जान लागेको हो ।
एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले आजै अदालत जाने बताए । ‘संसद पनि चल्छ, हामी अदालत पनि जान्छौं’, रानाले भने । प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रदेशसभाकी सभामुखले सभा छलेर हिँडेपछि र अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका जेष्ठ सदस्य बैठकमा नआएपछि सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए ।
मन्सुरीले विश्वासको मत लिने बैठक सञ्चालन गरेर मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला अध्यक्षको आसनमा अध्यक्ष मण्डलमा रहेकी गिता तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए ।
मन्सुरी समेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरि प्रदेशसभामा विश्वसको मत पाएका थिए भने विपक्षमा ३० मत परेको थियो । सभाध्यक्षको मतदानबाट विश्वासको मत पाएको भन्दै त्यसविरुद्ध एमाले अदालत जान लागेको हो ।