यो वर्षको दसैँ घमाइलो हुने

everest kitchen

काठमाडौँ । यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दसैँ घमाइलो हुने भएको छ । नेपालको सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिन सुरु गरेको मनसुन करिब चार दिनभित्र पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण रूपमा र लुम्बिनी प्रदेशबाट आंशिक रूपमा मनसुन बाहिरिसकेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु सर्दै नेपालको पूर्वी भेगबाट मनसुन सम्पूर्ण रूपमा बाहिरिने जनाइएको छ । दसैँ आसपास पहाडी भेगमा हल्का बदली देखिए पनि ठुलो वर्षा नहुने जानकारी उहाँले दिनुभयो ।

उहाँका अनुसार मनसुनी वायु कमजोर हुँदैजाँदा पश्चिमी वायुको प्रभाव भने बलियो बन्दै गएको छ । जसका कारण मनसुन बाहिरिएपछि पनि पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्का वर्षा हुने सम्भावना असोज महिनाभर कायम रहने मानन्धरले बताउनुभयो । भारी वर्षाको क्रम भने मनसुन बाहिरिने प्रक्रिया सुरु भएसँगै यो वर्षका लागि टुङ्गिएको छ ।

पश्चिमी वायुको वेग बढेकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने महाशाखाले जनाएको छ । अबका दिनमा तापक्रम घट्दै जाँदा घाम न्यानो लाग्ने दिनको बढोत्तरी हुने मानन्धरले बताउनुभयो । मनसुन बाहिरिने क्रम जारी रहे पनि गत साताको कडा वर्षाले कमजोर बनाएका भूभागमा सुक्खा पहिरो जाने सम्भावना कायम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै जलवायु परिवर्तनको प्रभावले बेमौसमी र अकस्मात् सिर्जना हुने मौसम प्रणालीले वर्षा निम्त्याउन सक्ने भएकाले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।