काठमाडौंँ । धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा गरेका छन् । कार्कीले ललितपुरदेखि जनकपुरसम्म पाँचौंपटक दौडेका हुन् ।
करिब २ सय २५ किलोमिटर दूरी दौड मंसिर १८ गते सुरु गरेका ५४ वर्षीय कार्कीले मंसिर २० गते दौड पूरा गरेका थिए । दौड पूरा गरी कार्की सोमबार काठमाडौं आइपुगेका छन् ।
गोदावरी नगरपालिका वडा १, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गरेका थिए । उनी त्यहीका बासिन्दा हुन् । हनुमान मन्दिर पनि कार्की आफैले निर्माण गरेका हुन् । त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पिट्टलको गदा निर्माणका लागि सहयोग संकलन गर्न दौडेको कार्कीले जानकारी गराए ।
कार्की यसअघि काठमाडौंदेखि दोलखा ३ पटक, काठमाडौं बुटवल १ पटक, काठमाडौंदेखि सिन्धुली ३ पटक र काठमाडौंदेखि उत्तर प्रदेश १ पटक दौडेर पुगेका थिए ।
त्यस्तै उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेका थिए । कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्लानै दौडेर पुगेका थिए ।