महोत्तरी, ७ फागुन
जिल्ला ट्राफिक कार्यालय महोत्तरीले स्वास्थ्य र ट्राफिक सचेतनाको कार्यक्रममा सयौजनालाई सडकमा उतारेको छ । प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार गरिएको कार्यक्रममा प्लेकार्डसहित विद्यार्थी र स्थानियहरुलाई साइकल र्र्याली गराएर ट्राफिक कार्यालयले झन्डै एक हजारजनालाई सडकमा उतारेको हो ।
‘हाम्रो चाहना सडक सुरक्षा र ट्राफिक नियमको पालना’ भन्ने नारासहित उक्त साइकल यात्रा झन्डै नाै किलोमिटरसम्म गरिएको ट्राफिक कार्यालय प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए ।
साइकल यात्रापछि गरिएको औपचारिक कार्यक्रममा सरोकारवालाले स्वास्थ्यसँगै वातावरणका लागि समेत साइकल यात्रा फलदायी हुने बताए । एमालेका युवा नेता कुमार भण्डारीले वातावरणीय र स्वास्थ्यका दृष्टिकोणले साइकल प्रयोगकर्ताहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले मंहगो इन्धनको प्रयोग गर्न नपर्ने, इन्धनको प्रयोगले वातावरणलाई पर्ने असर कम हुने हुँदा साईकलमैत्री वातावरणको अनेकौ फाइदा हुने वताए । ‘साइकल यात्रा गर्दा सडक यात्रामा हुने जोखिम कम हुने, मानव स्वास्थ्यका लागि समेत साइकल यात्राबाट हुने सकारात्मक फाइदाहरुको बारेमा सामाजिक रुपमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुपर्छ,’ उनले भने ।
तराई मधेसको सम्म भूभागमा समेत तीब्र गतिमा सवारी चलाउदा हुने दुर्घटनाबाट मधेसमा वर्षेनी सवारी दुर्घटना र क्षतिको विवरण बढ्दै गएको अवस्थामा साइकल यात्रा बिशेष सुरक्षित रहने र सोहीअनुसारको वातावरण सिर्जना गर्न स्थानीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरे ।