भेडापालक किसानहरु राडीपाखी बुनेर जीविकोपार्जन गर्दै

everest kitchen

हेमन्त केसी, सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिका ११, रोवागाउँका जीतबहादुर बुढाले घरमै राडीपाखी बुन्ने काम गरिरहेका छन् । राडीपाखी बिक्रीले उनको घर खर्च चल्ने गरेको छ ।

उनी मात्र होइन, रोवा गाउँका अन्य स्थानीयबासीले पनि व्यावसायिक रूपमा भेडापालन गरी राडीपाखी उत्पादनमा गरिरहेका छन् । कृषि पेसाले खान नपुग्ने भएपछि राडीपाखी व्यवसायमा उनीहरूको आकर्षण बढेको हो । भेडाको ऊनबाट कम्मल, फेरुवा, पाखी, बुनेर बिक्री गरेर वर्षौंदेखि उनले जीविकोपार्जन गरिरहेका छन् । स्थानीय बजारमा कम्मल र पाखी तीन हजारदेखि तीन हजार ५ सय र फेरुवाको चार हजार रुपैयाँमा बिक्री हुन्छ । सिजनमा राडीपाखीबाट २० हजार रुपैयाँसम्म कमाइ हुने उनको भनाई रहेको छ । भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दुःख हुने गरे पनि आफ्नो कमाइप्रति सन्तुष्ट रहेको उनको भनाइ छ ।

नगरपालिकाको रोबा¥याङच्याकाटी गाउँका एक सय ६९ परिवारमध्ये अधिकाश घरधुरीको मुख्य पेसा पनि राडीपाखी व्यवसाय गरिरहेका छन्  । गाउँका महिलासमेत राडीपाखा बुन्छन् । पिना, मुन्दु, कोटिला गाउँका अधिकाश स्थानीयवासी राडीपाखी बुनाइमा लागेको वर्षौ भइसक्यो । बर्सेनि एक परिवारले राडीपाखी बिक्री गरी न्यूनतम ५० हजार रुपैयाँ कमाउने गरेको छन् । नगरपालिकाको लेकाली बस्तीमा भेडापालन व्यवसाय फस्टाउँदै गएको छ । जसले राडीपाखी व्यवसायउन्मुख बनेको छ । भेडाको ऊनबाट स्थानीय पहिरन लिउ, फेरुवा, पाखो, कम्मललगायत सामग्री उत्पादन हुने गरेको छ ।

एउटा फेरुवा र कम्मल बनाउन १० दिनसम्म लाग्ने गरेको स्थानीयको भनाइ छ । राडीपाखी बेच्न गमगढी, नेपालगन्ज र सुर्खेतसम्म पुग्ने गरेको थार्प गाउँका हीरालाल बोहोराले बताए । अघिल्लो पुस्ता राडीपाखीको कमाइमै निर्भर छ । घरमा ४० देखि ५० वटा भेडाबाख्रा पाल्न सकिएको खण्डमा एक वर्ष १५ देखि २० वटा राडीपाखा उत्पादन गर्न सकिने स्थानीयबासीहरु बताउँछन् । भेडापालन र राडीपाखी दुवैबाट राम्रो आम्दानी हुने गरेको छ ।

भेडाको ऊनबाट गलैंचा उत्पादनको लागि धेरै पटक जिल्ला घरेलु कार्यालयमा तालिम र मेसिनको माग गरे पनि सुनुवाइ नभएको स्थानीयले गुनासो समेत गरेका छन् । जिल्लामा सडक सुविधा पुगेपछि ग्रामीण भेगका स्थानीयले बुनेका पाखी, लिउ, फेरुवा, कम्मल सहरतिर जाने गरेको उनी बताउछन् ।

जिल्लामा पाँच हजार पाँच सय रुपैयाँमा बिक्री हुने राडीपाखी सहरमा आठ हजारसम्ममा बिक्री हुने स्थानीयको भनाइ छ । जिल्लाको ग्रामीण बस्तीमा चरिचरन सुविधा भएकाले स्थानीयले भेडापालन गरेर आयआर्जनको मुख्य स्रोत बनाएका छन् । भेडाबाख्राको मल उन्नत बालीको निम्ति उपयुक्त हुने भएकाले दोहोरो फाइदा हुनेगरेको छ ।