साउदी अरबको लगानीको स्कोपलीले किन्यो ‘पोकेमोन गो’

everest kitchen

काठमाडौँ । साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पिआईएफ)  द्वारा समर्थित अमेरिकामा रहेको फर्म स्कोपलीले निआन्टिक ल्याब्सको भिडियो गेम डिभिजन ३.५ अर्ब डलरमा किन्ने सम्झौता गरेको छ ।

स्कोपलीले पोकेमोन गो, मोन्स्टर हन्टर नाउ र पिकमिन ब्लूम जस्ता खेलहरू बनाउन प्रयोग गरिएको गेम डिभिजन अधिग्रहण गरेको जानकारी दिएको हो ।

अप्रिल २०२३ मा, पिआईएफको पूर्ण स्वामित्वमा रहेको स्याभी गेम्स ग्रुपले ४.९ अर्ब डलरमा स्कोपली अधिग्रहण गरेको थियो ।

लगभग एक दशक अघि सुरु गरिएको भए पनि, पोकेमोन गो अझै पनि विश्वको सबैभन्दा लोकप्रिय भिडियो गेमहरू मध्ये एक हो, जसमा २० करोडभन्दा बढी साप्ताहिक सक्रिय खेलाडीहरू छन् । निआन्टिक ल्याब्सको मोबाइल गेम व्यवसायले २०२४ मा १ अर्ब डलरभन्दा बढी आम्दानी गरेको थियो ।

अमेरिकामा आधारित फर्मले सम्झौता अन्तर्गत आफ्ना इक्विटी होल्डरहरूलाई अतिरिक्त ३५० डलर मिलियन वितरण गर्ने बताएको छ, जसले कम्पनीका शेयरधारकहरूको लागि लगभग ३.८५ बिलियन डलरको कुल मूल्य प्रदान गर्नेछ ।

यसका साथै निआन्टिक एआईमा पनि प्रवेश गरेको छ ।  यसको संस्थापक र सीईओ, जोन हान्केको नेतृत्वमा निआन्टिक स्पेटियल नामक नयाँ कम्पनीको शुरुवात गरेको घोषणा गरेको छ । कम्पनीलाई २५० मिलियन डलर पूँजीको साथ वित्त पोषित गरिएको र निआन्टिकको ब्यालेन्स शीटबाट २०० मिलियन डलर र स्कोपलीबाट ५० मिलियन डलर लगानी गरिएको उल्लेख छ ।

भिजन २०३० को सुरुवातदेखि, साउदी अरेबियाले गेमिङ उद्योगलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ, पीआइएफले पहिले नै निन्टेन्डो, इलेक्ट्रोनिक आर्ट्स र टेक-टू इन्टरएक्टिभ जस्ता प्रमुख कम्पनीहरूमा आफ्नो हिस्सेदारी बनाएको छ ।

२०२४ मा, साउदी अरेबियाले ईस्पोर्ट्स विश्वकप पनि आयोजना गर्‍यो, जसमा ६० मिलियन डलरभन्दा बढीको पुरस्कार पूल रहेको थियो ।