मुम्बइ, ७ चैत ।यति लामो समयपछि सलमान खानलाई ठूलो पर्दामा देख्दा उनका फ्यानहरु निकै उत्साहित हुनेछन् ।
अभिनेताको बहुप्रतिक्षित फिल्म सिकन्दर यस वर्षको इदको अवसरमा रिलिज हुँदैछ । चलचित्रको टिजर सार्वजनिक भएको छ, जसलाई दर्शकले निकै माया गरिरहेका छन ।
तर, दर्शकमा रहेको यो उत्साहका बीच फिल्मको प्रचारप्रसारमा केही ठूला परिवर्तन गरिएको छ । यसअघि ‘सिकन्दर’ को प्रमोशनका लागि पुरा टिमले ३० हजार फ्यानसहित ट्रेलर सार्वजनिक गर्ने योजना बनाएको थियो तर अहिले परिवर्तन गरिएको छ ।
सलमान खानको फिल्म ‘सिकन्दर’ को ट्रेलर २३ वा २४ मार्चमा भव्य रुपमा रिलिज हुने थियो । तर, सुरक्षाका कारण अहिले यो योजना परिवर्तन गरिएको जनाइएको छ । अब सलमानले डिजिटल प्लेटफर्ममार्फत फिल्मको प्रमोशन गर्न लागेको बताइएको छ । यसको कारण सलमान खान सार्वजनिक रुपमा ठूलो संख्याका सामु देखिने छैनन ।
फिल्मको ट्रेलर पनि डिजिटल प्लेटफर्ममा भव्य रुपमा सार्वजनिक गरिने भएको छ । यो फिल्म मार्च ३० मा हलमा रिलिज हुँदैछ ।
पिंकभिलाको रिपोर्टका अनुसार सलमान खानको आवागमनमा धेरै प्रतिबन्ध लगाइएको छ, जसका कारण यो कार्यक्रम रद्द गरिएको छ । ट्रेलर सार्वजनिक भएपछि चलचित्रको अग्रिम बुकिङ सुरु हुनेछ । सबै समस्याका बाबजुद पनि सलमान आफ्ना फ्यानहरूसँग डिजिटल रूपमा जोडिने छन् । साथै, ट्रेलरको अन्तिम संस्करण लक भएको पनि रिपोर्टमा बताइएको छ ।