बारामा १५० किलो गाँजासहित चार जना तस्कर पक्राउ

everest kitchen

सञ्जय मिश्रा

रौतहट – बाराको सिमरास्थित इलाका प्रहरी कार्यालयको गस्ती टोलीले १५० किलो लागुऔषध गाँजासहित चार जना तस्करलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट असई प्रदीपप्रसाद पाण्डेको कमाण्डमा गएको टोलिीर लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट गएको टोलीले चार जनालाई मंगलबार राति पक्राउ गरेको हो।

जितपुर सिमरा उपमहानगरपालिका-४ औराहा स्थित दुधौरा खोलामा बोरामा राखेर टाउकोमा बोकेर रतनपुरबाट बकुलियातर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई संयुक्त रूपमा गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जितपुरसिमरा-२२ चक्री टोलका  ४२ वर्षीय बुध्द घलान, वडा  ८ का ३६ वर्षीय नन्दकिशोर सहनी,२८ वर्षीय वीबहादुर डम्वा, हेटौंडा उपमहानगरपालिका – १५ रातोमाटेका २७ वर्षीय सोमलाल पाख्रिन रहेको जिल्ला प्रहरी बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

पक्राउ परेका चारै जना गाँजासहित इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ।

मकवानपुर जिल्लाको विकट क्षेत्र पहाडको कुनाकाप्चामा गाँजा खेती अहिले फागुन-चैतमा पाकेर काट्ने गरेका कारण तस्करी बढेको छ।

रौतहट, बारा, पर्सा, मकवानपुर र भारतका तस्करहरूले मकवानपुरमा उत्पादित लागुऔषध गाँजा विभिन्न चोर बाटो हुँदै मधेसबाट भारत पुर्‍याउने गर्दछन्।