मलेसियाको जोहर जायामा अध्यागमनको छापा, नेपाली सहित अन्य विदेशी कामदारहरु पक्राउ

everest kitchen

क्वालालम्पुर । मलेसियाको जोहर जाया स्थित जलान बकावलीमा गरिएको पहिलो छापामा १५० जनालाई जाँच गरिएको छ, जसमा १०८ जना विदेशी नागरिक पक्राउ परेका छन्। त्यस्तै इको ग्यालेरियामा पनि ३ सय २३ जनाको जाँचपछि ४० जनालाई पक्राउ गरिएको छ।

पक्राउ परेका व्यक्तिहरूमा पुरुष, महिला र केटाकेटी समेत रहेका छन, जसले वैध कागजात प्रस्तुत गर्न सकेनन्। तीमध्ये कतिपयसँग काम गर्ने अनुमति थिएन भने केहीले आफ्नो राहदानी र कामदार अनुमति पत्र मालिकले कब्जा गरेको दाबी गरेका थिए।

पक्राउ परेका व्यक्तिहरू नेपाल, म्यानमार, इन्डोनेसिया, बंगलादेश, चीन, पाकिस्तान र भारतका नागरिक रहेका छन्।

उनीहरूलाई थप अनुसन्धानको लागि सेतीया ट्रोपिका आप्रवासन डिपोमा राखिएको छ। उनीहरूमाथि अध्यागमन ऐन १९५९/६३ को धारा ६ (१) (ग) र धारा १५ (१) (ग) अनुसार अवैध कागजात बिना बसोबास र भिसा म्याद नाघेको अभियोगमा अनुसन्धान भइरहेको छ।

छापा मार्ने क्रममा जोहर इमिग्रेशन विभागका एक वरिष्ठ अधिकारी गम्भीर घाइते भएका छन् । उनलाई गैरकानुनी रूपमा बसेका आप्रवासीहरूले भाग्ने क्रममा ठक्कर दिएका थिए। यो घटना शनीवार बिहान इको ग्यालेरियाको श्रमिकहरूको बासस्थानमा गरिएको छापामारीको क्रममा भएको हो।

संयुक्त अपरेशनमा सहभागी ती अधिकारीलाई करिब बिहान १ बजे विदेशी कामदारहरूले पक्राउबाट बच्न खोज्ने क्रममा ठक्कर दिँदा बाँया खुट्टाको हड्डी भाँचिएको हो। उनलाई तुरुन्तै सुल्ताना अमिनाहमा पुर्‍याइयो र अहिले उनको अवस्था स्थिर रहेको जनाइएको छ।

राज्य इमिग्रेशन विभागका उप-निर्देशक नोर फाइज़ल रहिमले बताए अनुसार, इन्फोर्समेन्ट टोली छिर्दा देख्ने बित्तिकै दर्जनौं अवैध श्रमिकहरू आआफ्ना साँघुरा कोठाहरूबाट भाग्न थालेपछि अवस्था अराजक भएको थियो।