मलेसियाको निलाईबाट नेपाली सहित ४९ अवैध कामदारहरु पक्राउ

everest kitchen

निलाई । मलेसियाको निलाई स्थित जलान देसा पाल्मा क्षेत्रमा गएराति भएको करिब तीन घण्टा लामो अध्यागमन विभागको अपरेसनमा ४९ जना अवैध कामदारहरुलाई विभिन्न कसुरमा पक्राउ गरिएको छ।

अध्यागमन विभागका उपमहानिर्देशक जाफ्री एमबोक ताहा अनुसार, अपरेसनमा कुल २ सय ६० जनालाई जाँचको लागि नियन्त्रणमा लिइएको थियो, जसमा ४९ जना पक्राउ परेका हुन्।

पक्राउ परेका व्यक्तिहरूको उमेर २० देखि ६० वर्षको बीचमा रहेको छ। तीमध्ये ४४ जना पुरुष र ५ जना महिला रहेका छन्। उनीहरू इन्डोनेसिया, बंगलादेश, म्यानमार, नेपाल, भारत, भियतनाम, पाकिस्तान, नाइजेरिया, चीन र यमनका नागरिक हुन्।

उनीहरुसँग वैध पास र यात्रासम्बन्धी कागजात नभएको, जुन अध्यागमन ऐन १९५९/६३ को धारा ६ (१) (c) अन्तर्गतको अपराध हो, तथा निर्धारित अवधि भन्दा बढी समय देशमा बसेको, जुन सोही ऐनको धारा १५ (१) (c) अन्तर्गतको अपराध हो, भन्ने आधारमा पक्राउ गरिएको अधिकारीले बताएका छन्।

जाफ्री एमबोकका अनुसार, अध्यागमन टोलीको उपस्थिति महसुस गरेपछि ती अवैध कामदारहरू भाग्न खोजेका थिए।

उनका अनुसार, तीमध्ये एक जना नाइजेरियाली नागरिक, जसको उमेर २० को दशकमा रहेको र एउटा रेस्टुरेन्टमा काम गर्ने व्यक्ति, को साथबाट धारिलो हतियार फेला परेको थियो।

अपरेसनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त जानकारी दिएका हुन्। सो अवसरमा नेगेरी सेम्बिलानका अप्रवासन निर्देशक केन्निथ टान आइ कियाङ पनि उपस्थित थिए।

पक्राउ परेका सबैलाई थप कारबाहीका लागि लेङ्ग्गेङ अप्रवासन डिपो पठाइएको जानकारी दिइएको छ।

गएको राति सम्पन्न अपरेसनमा करिब २०० जना कर्मचारी संलग्न थिए, जसमा श्रम विभाग र सिभिल डिफेन्स फोर्सका सदस्यहरू पनि समावेश थिए।

यही क्रममा उनले सर्वसाधारणलाई अवैध कामदारलाई लुकाउने कार्य नगर्न आग्रह गर्दै त्यस्तो गतिविधिबारे जानकारी भएमा सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गरे।

– बर्नामा