लघुकथा : प्रशंसा
चन्द्रा न्यौपाने
दीपाले ओढेको पछ्यौराको फेर दुबै हातमा लिंदै सविताले
भनिन् – “आहा, म्याम ! कति राम्रो पछ्यौरा; मलाई त साह्रै राम्रो लाग्यो। कहाँ कतिमा किन्नुभएको हो ? म पनि किन्छु। सुहाउन पनि कति राम्रो सुहाएको; यसमा त तपाइँ धपक्कै
बल्नुभएको छ नि।”
सविताको प्रशंसाबाट मख्ख पर्दै, भाइले ल्याइदिएको हो। कहाँ र कतिमा किनेको रहेछ ? म सोधुँला नि है भन्दै उनी आफ्नो बाटो लाग्नासाथ सँगै भएकी पवित्राले
भनिन् – “होइन ए, सविता ! के कुरा गरेकी तिमीले ? मलाई त त्यो पछ्यौरा कत्ति पनि राम्रो लागेन नि। रङ्ग पनि फुङ्ग उडेको अनि बुट्टा पनि कस्ता भद्दा ! त्यहींमाथि उहाँलाई कहाँ सुहाएको छ त ? कत्ति पनि खुलेकै छैन।”
त्यसपछि सविताले भनिन्- “मलाई नि कहाँ राम्रो लागेको छ त ? मलाई त झन फिटिक्कै मन परेन। उनलाई आजसम्म सबभन्दा नखुलेको र नसुहाएको त यही पछ्यौरा लाग्यो
मलाई; तर हेर, पवित्रा ! हाकिमलाई खुशी पार्ने बाटो…………………। बुढिमाउ मख्ख पर्दै गइन् …………।”