लघुकथा : उपहार
टुकादेवी आचार्य
“जन्मदिनको लाखौं लाख शुभकामना प्रिय!” एकाबिहानै उसको मेसेज आयो। मन प्रफुल्ल भयो । उसको मेसेज दोहोर्याएर पढेँ।मेरो २०औं जन्मदिनको अवसरमा शुभकामना प्रेषित गर्ने पहिलो आफन्त थियो।मनकै मान्छे थियो, ऊ ! मीठो कल्पनामा हराउँदै थिएँ , म ! फोनको घन्टी बज्यो ।रिसिभ गरेँ। “हेप्पी बर्थडे डियर ´´! तिमीलाई कहिल्यै रुन नपरोस्।सदा खुसी रहनू,सदा सुखी रहनू , ऊ भन्दै थियो ।म नि:शब्द सुन्दै थिएँ।
“तिम्रो जन्मदिनमा के उपहार दिऊँ ? सरला! ´´ ऊ उत्सहित स्वरमा सोद्धै थियो ।
मैले नि रोमाण्टिक पारामा भनेँ – “मेरो उपहार तिम्रो जीवन, होइन र , शैलेस ?
हाम्रो चिनजान फेसबुकबाट भएको थियो । यो ९ महिनामा हामी आत्मीय सम्बन्धमा बाँधिएका थियौँ । हिजोआज प्रत्येक दिन दसौं पटक पनि भिडियो कल हुन्थ्यो तर भौतिक रुपमा हामी भेटिएका थिएनौँ।ऊ पोखरामा थियो , म दमौली !
“आज हामी भेटौं न! ´´ उसले प्रस्ताव राख्यो। मनमा तरङ्ग फैलियो । ` हस ´ भनेँ । दुबैको सहमतिमा शुक्लागन्डकीको सेती नदी किनारस्थित रकगार्डेनमा भेट गर्ने निर्णय भयो।ढोरबराही मन्दिर दर्शन गरेर फर्कने योजना बनायौँ । दुबै जनाले कामबाट छुट्टि लियौँ । ऊ पोखराबाट हिडेको संकेत पाएपछि म पनि मिनिबस चढेँ। मनभरी गुलावी सपना बुनेर यात्रा गर्दै थिएँ।जीवनको यति मीठो यात्रा अरु नबनोस् भन्ने चाहना थियो।
बसबाट झर्दाझर्दै बसपार्ककै एउटा भींडले आँखा तान्यो।मोबाइलमा उसको नं डायल गर्दै थिएँ। “कठैबरा , कस्को छोरो होला? बिचरा , आमा भन्न नि पाएनछ।´´ एउटी अधबैंसे महिलाको आवाज सुनेँ । भींड छिचोलेर घटनास्थल पुगेँ। गाडीले किचेको रहेछ । अनुहार चिन्न सकिने थिएन । छेउ लागेँ । एकछिन उसको बाटो हेरिरहेँ । बस बाटोमा फस्यो कि ? कल डायल गरेँ । रिङटोन बज्यो । हेलो , अरूको आवाज , हल्लाखल्ला सुनेँ । भीँड नजिक गएँ । म एक्कासि चिच्याएँ, शैलेस ………. ! र भूईँमा पछारिएँ ।